काठमाडौं, वैशाख १३ । यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेको हो ।
बहराइनले दिएको १ सय १७ रनको सामान्य लक्ष्य यूएईले २७ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेटायो । यूएईका वृत्य अरविन्दले नटआउट ६२ र रोहन मुस्तफाले नटआउट ५० रन बनाए । बहराइनका अब्दुल मजिदले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए । यूएईका आयन अफजल खानले ४ विकेट लिँदा रोहन मुस्तफा र कार्तिक मय्यप्पनले २/२ विकेट लिए ।
यूएई समूह 'बी' बाट सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । अब भोलि बिहीवार हङकङ र कुवेत बीच हुने खेलको विजेता सेमिफाइनलमा पुग्ने अर्को टोली बन्नेछ । यस्तै समूह 'ए' बाट नेपाल १ खेलअघि नै सेमिफाइनल पुगिसकेको छ । यस्तै अहिले समूह 'ए' कै ओमान र साउदी अरेबिया बीच कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ । यस खेलको विजेता समूह 'ए' बाट सेमिफाइनल पुग्ने अर्को टोली बन्नेछ ।
एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।