विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन् ।
वैशाख ६ गते मिक्लाजुङमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेका विद्यार्थीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूले कक्षाकोठा भित्र ती १ बालिकालाई सामूहिक रूपमा कुटपिट गरेका हुन्। पक्राउ पर्नेमा कक्षा ८ र ९ मा अध्ययन गरिरहेका बालिकाहरू रहेका मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालको भनाइ छ।
अनुसन्धान र सार्वजनिक भिडियोमा प्रेमी (ब्वाइफ्रेन्ड) खोसेको आरोप लगाउँदै उनीहरूले ती बालिकालाई कुटपिट गरेको देखिएको छ। वैशाख ६ गते दिउँसो करिब साढे १२ बजे भएको सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीले पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अदालतबाट ५ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान समेत थालिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । पीडित बालिकाको विर्तामाडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।