काठमाडौं, वैशाख १३ । ओमान एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज बुधवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा पुगेको हो ।
ओमानले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरेबिया ४६ ओभर ५ बलमा २ सय ९४ रनमा अलआउट भयो । साउदी अरेबियाका अब्दुल वहीदले ९५ र साद खानले ७८ रन बनाए । ओमानका बिलाल खानले ४, जे ओडेड्राले ३ र जेशन मक्शूदले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए । उसका जतिन्दर सिंहले ८८, मोहम्मद नदीमले ३८ बलमा नटआउट ७१, शोएब खानले ६८, कप्तान जेशन मक्शूदले ५४ र कश्यप प्रजापतिले ५१ रन बनाए । साउदी अरेबियाका अतिफ उर रेहमानले ३ र अब्दुल वहिदले २ विकेट लिए ।
यो सँगै समूह 'ए' बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । यो समूहबाट नेपाल यसअघि नै १ खेलअघि नै सेमिफाइनल पुगेको छ । यस्तै समूह 'बी' बाट यूएई सेमिफाइनल पुगेको छ । अब भोलि बिहीवार हङकङ र कुवेतबीच हुने खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोली बन्नेछ ।
एसीसी प्रिमियर कपको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।