Kath khabar
जेठ अन्त्यसम्ममा विदेशबाट साढे ४ लाखभन्दा बढी नेपालीको उद्धार

काठमाडौं, २९ जेठ । कोभिड-१९ ले गर्दा एसिया, युरोप, अमेरिका, अफ्रिका लगायतका महादेशमा रहेका साढे चार लाखभन्दा बढी नेपालीहरुको सरकारले उद्धार गरेको छ । विदेशमा रहेका चार लाख ६३ हजार ४ सय १४ जना नेपालीलाई एसिया, युरोप, अमेरिका र अफ्रिकाका विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश ल्याएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जानकारी दिएको छ । फर्किनेमा अधिकांश रोजगारी गुमाएका तथा न्यून संख्यामा विद्यार्थी  रहेका केन्द्रका अधिकारीहरुको भनाई रहेको छ ।

विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने क्रममा सबैभन्दा धेरै खाडीका छ मुलुक, मलेसिया, चीन, भारत, दक्षिण कोरिया लगायतका मुलुक रहेका छन् । केन्द्रका अनुसार संयुक्त अरब इमिरेट्सबाट एक लाख ४२ हजार ३ सय ९१ जना, कतारबाट एक लाख आठ हजार चार सय पाँच, साउदी अरबबाट (रियाद, जेद्दा) ४२ हजार ३ सय ६, कुवेत २३ हजार ९ सय ३८, ओमानबाट पाँच हजार पाँच सय १४ र बहराइनबाट एक हजार तीन सय ५५ जनाको उद्धार गरी स्वदेश ल्याइएको छ ।

खाडीका मुलुकहरु नेपाली युवाहरुको लागि श्रम गन्तव्य मुलुक भएको हुदाँ त्यहाँ बाक्लो संख्यामा नेपालीहरु रहेको पाईन्छ । कोभिडका कारण खाडीमा ठूलो संख्यामा रहेका नेपालीहरु बेरोजगार हुन पुगेका थिए जसले गर्दा उनीहरुलाई स्वदेश फर्किनु पर्ने वाध्यता रहेको थियो।

सोहि क्रममा मलेसियाबाट ४९ हजार ३ सय ५२, भारतबाट ३७ हजार ५ सय ३७,  टर्कीबाट १४ हजार ९५, जापानबाट १३ हजार ७ सय ६३, सिंगापुरबाट पाँच हजार छ सय सात, दक्षिण कोरियाबाट तीन हजार छ सय ७५ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्यस्तै चीनबाट तीन हजार छ सय १४ जना, हङकङ र मकाउबाट तीन हजार एक सय ६४ जना, बंगलादेशबाट दुई हजार छ सय छ जना, अष्ट्रेलियाबाट एक हजार दुई सय ४४  जना, माल्दिभ्सबाट एक हजार १८ जना, अमेरिकाबाट छ सय १८ जना, ग्रीसबाट ३९ जना, दक्षिण सुडानबाट आठ जना र इथोपियाबाट पाँच जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मात्र नभई एसिया, युरोप र अफ्रिका लगायतका मुलुकमा कार्यरत नेपालीहरु समेत बेरोजगारी भएकै कारण स्वदेश फर्किनु पर्ने अवस्था आएको हो ।  

केन्द्रले उद्धारको क्रममा छिमेकी मुलुक भारत र चीनमा रहेका नेपालीहरु समेत स्वदेश ल्याएको छ । उनीहरुलाई अन्तराष्ट्रिय नियमित उडान स्थगन हुन पुग्दा चार्टर उडानमार्फत् स्वदेश ल्याइएको अधिकारीहरुको भनाई रहेको छ । सरकारले केन्द्रको जिम्मेवारी पछिल्लो समय अर्थात जेठ पहिलो साताबाट रथी (अवकाश प्राप्त) बालानन्द शर्मालाई दिएको छ भने सचिव तथा संयोजक भने डा.खगराज बराल रहनुभएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update