काठमाडौं, वैशाख १५ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ । पुनले आज शुक्रवार देखि काठमाण्डौको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गर्नुभएको हो।
उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताउनु भयो। पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो । उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके देशको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो ।
उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताका साथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाएको बताउनु भयो। उहाँले सरकारले अब नेपालमा नै प्रतिभा भएका युवाहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो।
उहाँले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरुमा पुगे सबै मन्त्री र नेताहरुसँग भेट्दा समेत केही गर्न नसकिएको बताउनु भयो । उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावि सन्ततिहरुको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरुको आविष्कार गर्ने,नयाँ प्रवर्द्धन गर्ने काम गरिएन भने देशको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौं ।'
उहाँले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गर्नुभयो। उहाँले प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गर्नुभयो।
उहाँले स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउन, नवउद्यमीहरुलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवर्द्धन समिति बनाउन र व्यावहारिक अनुसन्धान लाई प्रवर्द्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभयो। उहाँले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभयो । उहाँले पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गर्नुभएको छ ।