ललितपुर, वैशाख १५ । गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका–१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ ।
सुरेश तामाङले गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित आइतबार पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका–११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको हो । साथै भुपाल बिकको गोदावरी नगरपालिका–१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।