काठमाडौं, वैशाख १७ । काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ अनुसार विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन खोजेको मेयर बालेन्द्र शाहले फेसबुक मार्फत् प्रष्ट पारेका छन् ।
मेयर शाहका अनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालयको निर्णय अनुसार सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सकिनेछ । विद्यालयको नामाकरण समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी गर्नुपर्नेछ ।
कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ । तर यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भईसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ ।
मेयर शाहले नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दै नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा प्रष्ट पारेका छन् ।