काठमाडौं, वैशाख १७ । काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिएको छ ।
गत वैशाख सात गते कपनको सरस्वतीनगरस्थित भाँडा पसल सञ्चालन गर्दै आएकी निरु किचनकी सञ्चालक नीरा पाण्डे आचार्यको दिउँसै रहस्यमय तरिकाले हत्या गरिएको थियो ।
निरन्तरको अनुसन्धानपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाबाट एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विनोद विक रहेको प्रहरीले जनाएको छ । काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति आजै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।
गत वैशाख सात गते दिउँसो पसलमा नै बसिरहेको बेला धारीलो हतियार प्रहार गरी निराको निर्मम तरिकाले हत्या भएको थियो । प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको र उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
हत्या आरोपी पक्राउ पर्न नसकेको भन्दै आफन्त, व्यवसायी र स्थानीयहरुले प्रशासनविरुद्ध आन्दोलन गर्दै आइरहेका थिए ।