काठमाडौं, वैशाख १७। शहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्समा आइतबार जावलाखेलले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती १ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । संकटा र जावलाखेलबीच ५१ मिनेटपछिको खेल आइतबार भएको हो ।
शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ ।
संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।