काठमाडौं, वैशाख १८ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेलमा ललित राजवंशीले नेपाललाई नवौं सफलता दिलाएका छन् । तर वर्षाका कारण खेल पुनः रोकिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको छ ।
सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएका छन् । सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिएका छन् । करण केसीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिएका छन् ।
आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ । एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।