Kath khabar
‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने

 

                 काठमाडौं, वैशाख १९ ।  भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ घोषणा गरिएको छ । यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायन तर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए ।

यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए ।  उनका अनुसार पुरस्कार राशि जनही रु ५० हजार छ । गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएको तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई दिन शुरु गरिएको ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ युवा तबला वादक भिपी सिंहलाई प्रदान गरिने उनले जानकारी दिए । यसको पुरस्कार राशि रु २५ हजार छ ।

“नेपाली साङ्गीतिक क्षेत्रमा लामो समय देखि अनवरत रूपमा काम गरिरहेका सङ्गीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामी हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ । आगामी दिनमा यसलाई अझै समयानुकूल बनाउँदै अगाडि बढ्ने छौँ”, गायक आचार्यले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update