काठमाडौं, वैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एसिया कप क्रिकेट आयोजना अनिश्चित बनिरहेका बेला नेपालमै आयोजनाका गर्नका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
एसिसी प्रिमियर कपको फाइनलमा मंगलबार युएईलाई हराएर नेपालले एसिया कपमा आफ्नो स्थान बनाएपछि बधाई दिँदै लामिछानेले एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।
महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई भन्दै लामिछानेले भारत भ्रमणका क्रममा यो एजेन्डा सामेल गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने तय गरेको छ । तर राजनीतिक कारणले भारत र पाकिस्तानका कारण एसिया कप अन्योलमा परेको छ।
नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई
!!
खेलाडिहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ । अबको जिम्मेवारी नेपाल सरकारको। हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौं। एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आइसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ ।