Kath khabar
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र

 

                    काठमाडौं, वैशाख १९ ।  शहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबले विभिन्न माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् ।

‘ए’ डिभिजन खेल्ने ३ विभागीय बाहेक ११ क्लबले मंगलबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, क्लबहरुसँगको छलफलबाट दोस्रो लिगको खेल तालिका परिमार्जन हुनुपर्ने, जारी लिगको तयारी स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले छलफलपछि क्लबहरुहरुले तयारी स्वरुप पाउने पर्ने रकमका विषयमा एन्फाले एक साता भित्र निर्णय गर्ने आश्वसन दिएको बताए ।  

‘उहाँहरु (एन्फ)ले अघिल्लो वर्षको बाँकी ७ लाख ५० तथा जारी सिजनको दोस्रो किस्ता बापत पाउनुपर्ने १० लाख रुपैयाँको विषयमा एक साता भित्र निर्णय गर्ने आश्वसन दिनु भएको छ ।’ अध्यक्ष तुलाधरले भने ।  

यसैगरी तुलाधरले साफ च्याम्पियनसिपको तयारीका लागि लिग रोक्नु परे पनि आफुहरु तयार रहेको तर एन्फाले भने निर्धारित समयमै लिग सक्काउन चाहेको बताए ।  

‘हामीले साफ च्याम्पियनसिपको तयारीका लागि लिग रोक्नु परे पनि तयार रहेको जानकारी एन्फालाई गराएका थियौं,’ तुलाधरले थपे‘,तर उहाँहरुले निर्धारित समयमै लिग सक्काएर साफको तयारी गर्ने बताउनु भएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले लिग निर्धारित समयमै सक्काउने र क्लबहरुले पाउनुपर्ने रकम फिफासँगको सहकार्यमा छिट्टै उपलब्ध गराउने विषयमा सहमती भएको जानकारी गराए ।

‘उहाँहरु (क्लबहरु) सँग जारी लिग समयमै सक्काउने र क्लबहरुले पाउनुपर्ने रकम फिफासँगको सहकार्यमा छिट्टै उपलब्ध गराउने विषयमा सहभमती भएको छ।’ प्रवक्ता शाहले भने ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update