मलेखु, वैशाख २० । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।
बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । पृथ्वी राजमार्ग भएर चल्ने दुबैतिरको सवारी साधन यतिबेला रोकिएका छन् । पुल मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ ।
नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।