Kath khabar
एमालेका सचिव टोपबहादुर रायमाझी, छोरा सन्दीप सहित पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पक्राउ पुर्जी

 

                   काठमाडौं, वैशाख २० ।  तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट आज रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरू विरुद्ध पक्राउ पुर्जी लिएको हो । आज नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

त्यसैगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत रहेको गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । यस घटनामा उनका छोरा निरज राई विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।  

इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापा विरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। 

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा  संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। 

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ। यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। 

अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो। त्यसमा भएका ४ वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए। 

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 


 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update