काठमाडौं, वैशाख २१ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो । आज फेरि त्यो रेकर्ड तोड्दै सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो ।
अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।