काठमाडौं, वैशाख २१ । शहिद स्मारक 'ए' डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्लबले बिहीबार दशरथ रंगशालामा संकटा क्लबलाई ३-१ गोलले पराजित गरेको छ। मछिन्द्रका लागि देवेन्द्र तामाङले चौथो मिनेटमा पहिलो गोल गरे। ओलावाले अफिजले ६९ मिनेटमा अग्रता दोब्बर पारे।
संकटाका जुनियर एनकेनगुइले ७८ मिनेटमा गोल गरे। खेल सकिन १ मिनेट बाँकी छदा विमल घर्तिमगरले तेस्रो गोल गर्न सफल भए। जितसँगै पाँचौं स्थानमा उक्लिएको मछिन्द्रले १४ खेलबाट २१ अंक जोडेको छ। एघारौं स्थानको संकटाको १६ अंक छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपिएफ र न्युरोड टिम एनआरटीबीचको खेल भने १-१ गोलको बराबरीमा रोकियो।एपिएफका लागि एडमा डोम्बियाले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै आफ्नो टिमको हार टारेका थिए।त्यसअघि एनआरटीका ललनुनजामाले ५८ मिनेटमा गोल गरेका थिए।
अंक तालिकामा १९ अंक जोड्दै एपिएफ सातौं स्थानमा छ। एनआरटी १७ अंक जोडेर नवौं स्थानमा उक्लियो। यससँगै लिगको १४औं चरणका खेल आजबाट सकिए।