काठमाडौं, वैशाख २४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले टुकुचा ढल नभई खोला नै भएको पुनःप्रमाणित भएको बताएका छन् ।
उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको उनले आज सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ, उनले बताएका छन् ।
यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् उनले भनेका छन् ।
गत वर्ष टुकुचा उत्खनन अभियान चलाएको काठमाडौँ महानगरको अभियानविरुद्ध टुकुचामाथि संरचना बनाएकाहरूले रिट हालेपछि उच्च अदालत पाटनले अभियान रोक्न अन्तरिम आदेश दिएको थियो । २०७९ माघ १८ गते रिट जारी हुने फैसला सुनाएको थियो । सोही फैसलाको पूर्णपाठ वैशाख १३ गते सार्वजनिक भएको हो।