Kath khabar
प्रधानमन्त्री प्रचण्डद्वारा १० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

 

                काठमाडौं, वैशाख २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त र महिन्द्रराय यादवलाई मन्त्रालय परिवर्तन गर्दै खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष नवनियुक्त मन्त्री आचार्यले  नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको  राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।

यो सँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले पुसमा १, माघमा ३ पटक, फागुनमा २, चैतमा १ र वैशाखमा ३ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update