काठमाडौं, वैशाख २४ । सभामुख देवराज घिमिरेले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिना देखि शुरु हुने जानकारी गराएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिना देखि शुरु हुने जानकारी गराएका हुन्।
सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए।
त्यसैगरी, सभामुख देवराज घिमिरेले सांसदहरुको ई-हाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
ई-हाजिरी शुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइट मार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर भएको बताए।
यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरु बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन्। साथै बैठकमा उनले संसदीय सुनुवाई समिति सहित २ संयुक्त समिति ३ दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राखे।