काठमाडौं, वैशाख २३ । काठमाडौं महानगरले महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम आजदेखि सुरु गरेको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम गर्न थाल्ने निर्णय गरेको हो ।
तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि समेत रहनेछन् । सेवा प्रदायकले आ-आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ ।
काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । प्राधिकरणले तल उल्लेखित भए बमोजिमका रूटहरूमा क्रमशः तारहरू व्यवस्थित गर्ने र सबै सेवाप्रदायकहरूलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।
माईतिघर देखि एयरपोर्ट
त्रिपुरेश्वर देखि महाराजगञ्ज
न्यूरोड – वसन्तपुर हुँदै असन
माईतिघर – पुतलीसडक हुँदै नारायणहिटी
भद्रकाली – नारायणहिटी – कमलादी हुँदै रानीपोखरी
डिल्लीबजार – अनामनगर हुँदै BICC Ring
नक्साल – वालुवाटार हुँदै शीतलनिवास
माईतिघर – त्रिपुरेश्वर हुँदै कलकीं
लैनचौर – अस्कल – रानिवारी हुँदै सामाखुशी
सोह्रखुट्टे – ढल्को – ताहाचल हुँदै स्वयम्भु
सिनामंगल – पुरोनो वानेश्वर हुँदैगौशला
गौशला – बौद्वनाथ
कालिमाटी – कुलेश्वर हुँदै बल्खु