काठमाडौं, वैशाख २५ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संघीय संसदमा कपडा खोलेर विरोध जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए तर सभामुख देवराज घिमिरेले संसद नियमावलीको कारण देखाउँदै बोल्न नदिएपछि सांसद सिंहले सिंहले लुगा खोलेर विरोध जनाएका हुन् ।
सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिएका सांसदहरुलाई सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएपछि सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध जनाएका हुन् । संसद बैठकमा अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।
सभामुखको कार्यशैलीको विरोधमा सांसदले कपडा खोलेको यो पहिलो घटना हो । यसअघि पहिलो संविधानसभामा सांसद विश्वेन्द्र पासवानले कपडा च्यातेका थिए । केहीबेर अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक १० मिनेटको अवरोधपछि सुचारु भएको छ ।
नक्कली शरणार्थी प्रकरणबारे बोल्नका लागि उनले समय माग गरेका थिए । एमालेका सांसद अच्यूतप्रसाद मैनालीले भने सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।