Kath khabar
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै

 

                 ललितपुर, वैशाख २५ ।  एशियाली फुटबल संघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकका निर्णयहरु प्रति आपत्ति जनाए पछि आज (सोमबार) एन्फा ले कार्यसमितिको आपत्तकालिन बैठक बस्दैछ ।

पछिल्लो समय संस्थापक इतरमा रहेका सदस्यहरुले एन्फाको नेतृत्व तानाशाही ढंगले एकल निर्णय गर्दै अघि बढ्ने प्रयासमा रहेको भन्दै बारम्बार आपत्ति जनाउँदै आइरहेका छन् । अध्यक्ष नेम्वाङ्गको प्यानलमा रहेका सदस्य र महासचिव किरण राई लगायतको कार्यशैली र निर्णयहरु एकलवाद रहेको आरोप सहित कार्यसमितिका अन्य सदस्यहरु रुष्ट हुँदै आएपछि आज आपत्तकालिन बैठक डाँकिएको एन्फा स्रोतले जनाएको छ ।

आपत्तकालिन बैठक दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयको हलमा बस्नेछ । आज तय भएको बैठक एन्फाको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम डाँकिएको हो ।

असार यता अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङ्ग नेतृत्वको कुनै पनि औपचारिक कार्यसमिति बैठकले सर्वसम्मत निर्णयहरु गर्न नसकेको एन्फा सदस्य बताउँछन् ।

ती सदस्यका अनुसार फागुन १७ गते बसेको बैठकले गरेको राष्ट्रिय पुरुष टोलिका हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको नियुक्ति, सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशीको नियुक्तिमा अधिकांश केन्दिुरय सदस्यले आपत्ति जनाउँदै बैठक त्यागेर बाहिरिएका थिए ।

यसपछि संस्थापक हैकमवाद भएको र एकल निर्णयको आधारमा एन्फा चलाउन खोज्दै नेपालको फुटबल विकासलाई धरापमा पारेको उल्लेख गर्दै एएफसीमा पत्राचार गरेका थिए । पत्रको आधारलाई अध्ययन गर्दै एएफसीले एन्फालाई नियम संगत ढंगले बैठक संचालन गर्न र फुटबलको गतिविधि स्वच्छ ढंगले अघि बढाउन भन्दै ध्यानाकर्षण गराएको एन्फा सदस्यले जानकारी गराए ।

एन्फाको आजको आपत्तकालिन बैठकमा जारी ‘ए’ डिभिजन लिगमा क्लबहरुले माँग गरेको बाँकी तयारी रकम र पहिल्यै देखिको दिन बाँकी रहेको रकम लगायत एन्फाको आर्थिक अवस्थाका कारण ‘बी’ र ‘सी’ डिभिजन लिग हुन नसक्नु पछाडिको कारण स्पष्ट पार्ने गरी छलफल हुने तय भएको छ ।

असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङ्ग प्यानलबाट एकै स्वर र विकासको नारा लिएर निर्वाचि भएका सदस्यहरु अहिले स्पष्ट रुपमा २ गुटमा विभक्त भएपछि एन्फाको गतिविधि निकोसँग संचालन हुन सकेको छैन ।

नेम्वाङ्गको प्यानलमा अहिले उपाध्यक्षद्वय विरबहादुर खड्का र दावा लामा, सदस्यहरु अनिल मल्ल, भरत बुढाथापा, पुरुषोत्तम थापा, विकास श्रेष्ठ, मणिराज विष्ट र सरिला श्रेष्ठ रहेका छन् । यसबाहेकका अन्य सदस्यहरु इतर प्यानलमा रहेको बुझिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update