ललितपुर , वैशाख २६ । ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने, अन्तर संघ खेलकुद, स्मारिका प्रकाशन, दशैँ तिहार विशेष उपहार कार्यक्रम तथा सदस्यता अभिवृद्धि जस्ता कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ ।
२५ वर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोशाक, ब्याग तथा कस्मेटिक्स व्यवसायीहरूलाई सङ्गठित गर्ने उद्देश्यले संघको स्थापना भएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै स्वागत गर्नुभएको थियो भने संस्थापक अध्यक्ष शाक्यले संघको इतिहास उल्लेख गर्दै पत्रकारहरूको जिज्ञासाको जवाफ दिनु भएको थियो भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष शेरबहादुर महर्जनले गर्नुभएको थियो ।