काठमाडौं, वैशाख २६ । एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सर्ने सम्भावना बढेको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसिया कप यूएई सर्ने सम्भावना बढेको क्रिकइन्फोले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि पाकिस्तानले अघि सारेको हाईब्रिड मोडेल एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नमानेपछि एसिया कप श्रीलंकामा हुने सम्भावना बढेको हो । पाकिस्तानले एसिया कपमा भारतको खेल जति यूएईमा गर्ने र अन्य खेल पाकिस्तानमै हुने गरि हाईब्रिड मोडेलको प्रस्ताव गरेको थियो।
श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप आफ्नै भूमिमा प्रतियोगिता आयोजना गर्ने अडानमा छ । एसिसीको यसै हप्ता बस्ने बोर्ड बैठकले प्रतियोगिता आयोजनाबारे निर्णय गर्नेछ ।
एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको लागि छनोट भएको नेपालले यसपालि पहिलो पटक एसिया कप खेल्दैछ। आगामी सेप्टेम्बरमा हुने तय भएको एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।