Kath khabar
मधुमेहका बिरामीले खरबुजा खाने कि नखाने ?


                    काठमाडौं, वैशाख २६ । खरबुजा पानीकाे मात्रा धेरै भएकाे फल हाे । गर्मीको सिजनमा खरबुजाको क्रेज ह्वात्तै बढ्छ । अधिकांश मानिसहरूले यो रसदार फललाई धेरै मनपराउँछन् । कतिपयलाई खरबुजा काटेर खान मन लाग्छ भने कतिपयलाई खरबुजाको जुस पिउन मन पर्छ ।

खरबुजा पोषक तत्वले भरिपूर्ण फल हो, जसले शरीरलाई पर्याप्त मात्रामा पानी पनि दिन्छ। यसलाई हाइड्रेसनको लागि धेरै राम्रो मानिन्छ।  खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । खरबुजा स्वस्थ मानिसका लागि फाइदाजनक भए पनि मधुमेहका बिरामीले यसको सेवन सावधानीपूर्वक गर्नुपर्छ । खरबुजा बढी खाँदा सुगरका बिरामीलाई हानी पुर्‍याउन सक्छ ।

खानाको ग्लाइसेमिक इन्डेक्स (GI) ले रगतमा ग्लुकोजको स्तरलाई असर गर्छ। यदि कुनै खानाको ग्लाइसेमिक इन्डेक्स बढी भएमा चिनी छिटो रगतमा जान्छ र रगतमा चिनीको मात्रा छिटो बढ्छ, जबकि कम इन्डेक्स भएका खानेकुराले चिनीको मात्रालाई खासै असर गर्दैन। ग्लाइसेमिक सूचकांक १ देखि १०० को मापनमा मापन गरिन्छ।

विज्ञहरुका अनुसार खरबुजाको ग्लाइसेमिक इन्डेक्स लगभग ७२ छ । विज्ञहरूका अनुसार ७० वा सोभन्दा बढी ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरालाई उच्च जीआई श्रेणीमा राखिन्छ। खरबुजामा पनि धेरै चिनी हुन्छ । २८६ ग्राम खरबुजामा १७.७ ग्राम चिनी हुन्छ। यदि तपाइँ एक कप खरबुजा खानुहुन्छ भने यसमा लगभग १० ग्राम चिनी हुन्छ।

मधुमेहका रोगीहरूले खरबुजालाई संयमित मात्रामा सेवन गर्न सक्छन्, किनभने खरबुजामा प्रशस्त मात्रामा पानी हुन्छ र यसले ग्लाइसेमिक भारलाई कम गर्छ । खरबुजा उच्च ग्लाइसेमिक इन्डेक्स भएको फल हो र यसको अधिक सेवनले रगतमा चिनीको मात्रा छिटो बढाउन सक्छ ।

यस्तो अवस्थामा खरबुजा कम्तीमा मात्रै खानुपर्छ । मधुमेहको समस्या हुने व्यक्तिले खरबुजा खानुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update