काठमाडौं, वैशाख २६ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धता पनि माग गरे।
उनले कर्मचारीले साइनिङ मनीको रूपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भन्दै प्रश्न गरे।
उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौं, कर्मचारीले 'साइनिङ मनी' लिने। सुरूमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ। साइनिङ मनी लिने, २/३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेसनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने।
यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन। यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्।’ राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।