काठमाडौं, वैशाख २६ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीमा संलग्न थप २ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरु माथि अनुसन्धान शुरु भएको छ।
यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो। नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ।
त्यसैगरी, पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमाले सचिव टोपबहादुर रायमाझीको नाम अनुसन्धानको सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारवाही गर्न हतार नगर्ने समेत जनाएको छ। बैठकले बैंशाख २८ गतेदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि बिभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेश लगाएतका एजेण्डा माथि छलफल हुने गुरुङले जानकारी दिए।