काठमाडौं, वैशाख २७ । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले खाणलाई उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनलाई प्रहरी परिसर टेकु लगिएको जनाइएको छ । खाणसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाणको नाम पनि आएको छ । खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने हालसम्म फरार छन् ।