काठमाडौं, वैशाख २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् ।
उनले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु, यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’
त्यस्तै, उनले सामाजिक सञ्जालमार्फत नै खबरदारी दिदै भनेका छन्, 'अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको 'जगजाहेर तान्डव' लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।'
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उन्मुक्ति दिने वा अनुसन्धान तुहाउने प्रयास भए आफ्नो पार्टी थप सशक्त बन्ने चेतावनी उनले दिएका हुन् ।
भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । खाण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
पक्राउ पर्नेहरुमा उच्च पदस्थ अधिकारीहरु सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, रामशरण केसी, गोविन्द चौधरी, केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ रहेका छन् ।
यसै प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने अहिलेसम्म फरार रहेका छन् ।