काठमाडौं, वैशाख २७ । कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात २६ दशमलव तीन प्रतिशतले कमी आई एक खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५ दशमलव एक प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः दुई दशमलव दुई प्रतिशत र आठ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आवको पछिल्लो नौ महिनामा कुल वस्तु आयात १८ दशमलव एक प्रतिशतले कमी आई १२ खर्ब एक अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव चार प्रतिशत, २३ प्रतिशत र १९ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेसिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८ दशमलव पाँच प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब एक अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ६७ अर्ब ५३ करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।