Kath khabar
बालकृष्ण खाणलाई हिरासतमा राख्न आजै अनुमति लिइने तयारी

 

                      काठमाडौं, वैशाख २७ । प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेलगत्तै हिरासतमा राख्न बुधबार नै म्याद लिने तयारी गरेको हो ।

खाँणलाई बुधबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको हो ।  अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले जानकारी दिए । खाण पक्राउ परेलगत्तै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । 

यस प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले खाणले पनि आर्थिक लाभ लिएको बयानमा भनेका छन् । प्रहरीले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र  पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update