काठमाडौं, वैशाख २७ । आगामी जुन महिनामा जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने सबै १० देशको टुंगो लागेको छ ।
आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वत: छनोट हुने आठ टिमको टुंगो लागेको हो । खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिका विश्वकपमा छनोट भएको छ।
एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो।
१८ जुन देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका छन् ।