ललितपुर, वैशाख २८ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान करिब साढे ११ बजेबाट बैठक शुरू भएको हो। ३ दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा बिहीबार (आज) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
फागुन ५ गतेबाट पार्टीले शुरू गरेको ‘मिसन ग्रासरूट’को समीक्षाअन्तर्गत आजै ९ वटा प्रदेश (७ भूगोल, २ गैरभूगोल) कमिटीहरूले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको रिजालले बताए। ‘आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै मिसन ग्रासरूट अभियानको समीक्षा अन्तर्गत प्रदेशका प्रतिवेदन पेश हुन्छ,’ रिजालले बताए।
मंगलरबार बसेको सचिवालय बैठकले १० वटा कार्यसूची तय गरेको थियो। जसअन्तर्गत चौथो केन्द्रीय कमिटी बैठकयताका निर्णयहरूको जानकारी, अनुमोदन, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक, कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन, समसामयिक प्रस्ताव आदि विषय छन्।
आजबाट शुरू हुने बैठकमा यसबारे पनि छलफल गर्ने बताइएको छ। नेकपा (एमाले)को केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय छ। अनुशासन, लेखा, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् सदस्य केन्द्रीय कमिटीका पदेन सदस्य हुन्छन्। त्यस्तै ९ वटा प्रदेश कमिटीका अध्यक्ष पनि पदेन सदस्यका हैसियतले बैठकमा सहभागी हुने व्यवस्था छ।
एमालेका २ केन्द्रीय सदस्य निलम्बित छन्। पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएर फरार भएपछि निलम्बनमा परेका छन्। केन्द्रीय सदस्य हरिनाराण महतो पनि अनुशासन विपरीत काम गरेको भन्दै निलम्बनमै छन्।