
ललितपुर, वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे ।
अयोग्य लडाकुलाई २ लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए ।
कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई २ लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । ‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क-कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ,’ उनले भने, ‘सरकारबाट बलजफती निर्णय गराउने र फेरि १ लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने। लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो।’
लडाकु शिविरको नाममा नभएका व्यक्तिको नाममा अर्बौँ पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ । ‘राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो। जो सुकैले गरेको होस्,’ उनले भने, ‘राज्यको अबौं हिना मिनाको अख्तियारले छानबिन गर्नुपर्छ, खुट्टा नकमाउनुस्।'