काभ्रेपलाञ्चोक, वैशाख २८ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्।
बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका-८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरेका हुन्।
“मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भने। लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदान प्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे।
मन्त्री मोदीले भने “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधि रहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उनको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठान मार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्ने लगायत माग प्रस्तुत गरिएको थियो ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए हाल बत्तीस वर्षका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत थिए।
जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएका थिए । त्यस दिनदखि उनको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए भने ४० जना घाइते भएका थिए ।