काठमाडौं, वैशाख २९ । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवा कालिका गाउँपालिका–८ धुसेनी घर भई हाल काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका लागि दुबई पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
यस्तै सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं जडिबुटी नरेफाँटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।