Kath Khabar
बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालिटी शो आयोजना हुने



                    काठमाडौं, वैशाख २९ । एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालिटी शो आयोजना गर्ने भएको छ ।

विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्तर्निहित गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी शोका नाममा गायन र नृत्यको रियालिटी शो आयोजना गर्न लागेको हो । आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लवबहादुर कार्कीले शहर केन्द्रित रियालिटी शो भइरहेको समयमा गाउँगाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताए । ‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ ।

त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन् । तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगीङ एन्ड डान्स रियालिटी शो गर्न लागिएको हो’ कार्कीको भनाई छ ‘यसका लागि हामी बागमती प्रदेशका नौ स्थानमा पुगेर वास्तविक प्रतिभाको खोजी गर्नेछौँ । पहिलोपटक बागमती प्रदेशमा रियालिटी शो गरिसकेपछि चरणवद्धरुपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालिटी शो गर्ने योजना छ ।

रियालीटी शोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणवद्धरुपमा अडिसन गरिने भएको छ । नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजिटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरुलाई रियालिटी शोमा सामेल गरिनेछ। रियालिटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरूप जनही नगद एक लाख रुपियाँ तथा फस्ट रनर्सअपलाई जनही ३० हजार र सेकेन्ड रनर्सअपलाई जनही २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन् । अडिसनको सुरुवात धादिङबाट भइसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक कार्कीले जानकारी गराए। उनका अनुसार रियालिटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिने छ ।

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी शो ख्यातिप्राप्त अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो । अभिनेत्री मिथिला शर्माले यो रियालिटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताइन् । अभिनेत्री गौरी मल्लले यसबाट देशले नव प्रतिभा पाउने विश्वास गरिन् । गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताए। गायिका देविका बन्दनाले गाउँगाउँमा लुकेर रहेका प्रतिभा यो रियालिटी शोबाट बाहिर आउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने रियालिटी शोमा निर्देशन लबबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुइँटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यवस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपुत रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update