काठमाडौं, वैशाख २९ । सरकारले २ वर्षयताका भूकम्प पीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ ,८८० भूकम्प पीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त बैठकले २०७८ र २०७९ मा गएका भूकम्पबाट पूर्ण रूपमा घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई २ किस्तामा गरी ५० हजार अनुदान दिने निर्णय गरेको हो।
यसअवधिमा लमजुङ, खोटाङ, डोटी र बाजुरा केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका ५,८८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका सरकारी तथ्यांक रहेको छ ।