पाँचथर, वैशाख २९ । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडाको लाक्सेबुङमा १ अशक्त युवकको जलेर मृत्यु भएको छ।
बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ वर्षीय मनकुमार नेम्बाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरको छानो भएको घरमा जङ्गलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो । घरमा मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै २ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
बिहीबारदेखि नै जिल्लाको फिदिम नगरपालिका ९ को लम्जक सामुदायिक वन, फिदिम ८ को भष्मे जङ्गल र मिक्लाजुङ गाउँपालिका ८ को देउराली सामुदायिक वनमा आगलागी भएको तर सो आगलागीले नजिकका बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । ती स्थानमा प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेको प्रनाउ खतिवडाले बताए ।