काठमाडौं, वैशाख ३१ । अवैध अमेरिकी रकम भित्र्याएको मुद्दामा पूर्व अर्थमन्त्री जनार्दन शर्माको नाम समेत जोडिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका जनार्दन शर्मालाई प्रहरीले पक्राउ गर्ने तयारी समेत गरेको प्रहरी स्रोतले जनाएको छ ।
अमेरिकाबाट अवैध रुपमा गत वर्ष चैतमा आएको ४० करोड रकम राष्ट्र बैंकले रोक्का गरेको थियो । सोही प्रकरणमा गत पुसमा प्रहरीले पक्राउ गरी अनुसन्धानकै क्रममा शाह हिरासतमा रहेका छन् । शाहले अवैध रूपमा उक्त रकम नेपाल भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता रहेको प्रहरीलाई बयान दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस विषयमा राजनीतिक दलका उच्च तहका नेताहरुसँग परामर्श लिइरहेको छ । शर्मा यस प्रकरणमा मुछिएपछि प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ । अहिले प्रचण्डसँग चिढिएका जनार्दन शर्मालाई राजनीतिक दबाव नभएमा प्रहरीले केही दिनमै पक्राउ गर्ने स्रोतको दाबी छ ।