Kath khabar
३ वर्षपछि इलेक्ट्रिक एअर ट्याक्सी सञ्चालनमा आउँदै

न्युयोर्क, जेठ ३१ । अमेरीकाका चार ठुला सहरमा सन् २०२४ सम्म इलेक्ट्रिक एअर ट्याक्सी संचालन गर्ने योजना बनाइएको छ । पेट्रालियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्थापन गर्दै इलेक्ट्रिक साधनहरु सडकमा बढीरहेको बेला आकाशमा पनि त्यसलाई विस्तार गर्ने योजना ल्याइएको छ ।

साइन्स फिक्सन कथामा पढिने यस प्रकारका उड्ने कारलाई वास्तविक जिवनमा सार्थक बनाउन अमेरीकाका एक नवकम्पनी जोवी एविएसन कम्मर कसेर लागेको छ । यो साधनको सुरुवाती गती एक सय चौवालिस किलोमिटर प्रतिघण्टा र एक हजार फिट माथिसम्म उड्न सक्ने बताइएको छ । 

संसारमा स्थापित एअर कम्पनीहरु बोइङ, मार्टिन, एअरबस, लकलिड र बोलोकप्टर जस्ता ठुला कम्पनीसित प्रतिस्पर्धा गर्नुपर्ने यो एक दशक मात्र उमेर पार गरेको कम्पनीको मुख्यालय अमेरिकाको स्यानटाक्रुजमा छ । यस कम्पनीका संस्थापक जोवेन बिवर्टले असामान्य चुनौति रहेको यस परीयोजना जसरी भएपनि सफल बनाउने दृढता ब्यक्त गर्नुभएको छ ।

ब्यस्त जिबनशैली भएका अमेरीकीहरु समयको ख्याल राख्दछन् । सडक र मेट्रोमा लाग्ने समयको बचत तथा पेट्रालियम पदार्थको प्रदुषणबाट राहत मिल्नेमा उनीहरु आशावादी भएका छन् । अमेरीकी संघिय हवाई प्रशासनका प्रमुख स्टीब डिक्सनले अमेरीकनहरुलाई सन् २०२३ मै एअर ट्याक्सी आवश्यक पर्ने भएपनि २०२४ सम्म यो परियोजना सफल हुनेमा ढुक्क भएको बताउनुभएको छ ।

हवाई क्षेत्रका जानकार मार्ग स्टेनका अनुसार सन् २०४० सम्म यो नवोदित कम्पनीको सम्पती एक ट्रिलिएन डलर पुग्नेछ र यसले अहिले स्थापित भएका एअर कम्पनीलाई भविष्यमा पछि पार्नेछ । यस जोवी एविएसन कंपनीलाई अमेरीकी हवाइ प्रशासनले पूर्ण साथ दिएको छ ।

जोवी एविएसनले कार निर्माता कम्पनीमा टोयटा मोटर कारको चार सय मिलिएन डलर सेयर प्राप्त गरेको छ । यो कम्पनीले उबर टेक्नोलोजिस् इनकर्पाेरेसनको फ्लाइङ कार डिभिजन खरिद गरेको छ । साथै उबरले यस कम्पनीमा पचहत्तर मिलिएन डलर शेयर पनि हालेको छ ।

जोवी एविएसनले सन् २०२४ सम्म लस एन्जेल्स, मियामी न्यूयोर्क र सनफ्रान्सीकोमा एयर ट्याक्सी संचालन गर्ने योजना बनाएको छ । अमेरीकामा यस्तो सानो उडानका एअर ट्याक्सी सडक माथि उडाउँदा दुर्घटना बढ्ने भन्दै बिरोध पनि भइरहेको छ । तर कम्पनीले आगामी दिनमा कानुनी तथा प्राविधिक समस्या हल हुने विश्वास ब्यक्त गरेको छ ।

जोवेन विवर्टले जोवी एविएसन कम्पनीको स्थापना सन २००९ मा गर्नुभएको थियो । यो कम्पनी सुरुवात गर्नुभन्दा पहिलै नै दुईओटा कम्पनी सञ्चालन गरी नाफामा बेच्न समेत भ्याएका थिए । विवर्टले पिंट्रेस्ट इनकर्पाेरेशनका कार्यकारी प्रमुख पाउला सियारासँग विजनेस गर्न सिक्नुभएको थियो ।

गत वर्ष अमेरीकी एअसफोर्सले जोवी एविएसनलाई उडान अनुमति दिएको थियो । आगामी बर्ष यस कम्पनीका दशओटा एअर ट्याक्सीलाई परिक्षण गरिनेछ । यो एअर ट्याक्सीको लागत खर्च हेलीकोप्टरको एक चौथाइ हुने बताइएको छ । जोवेन विवर्टले यस नयाँ प्रविधिलाई यूद्दमा प्रयोग नगरिने जानकारी दिनुभएको छ । उहाँका अनुसार यो एअर ट्याक्सी छोटो दुरी र व्यस्त सहरका लागि संचालन गर्ने उद्देश्यका साथ आउँदैछ ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update