इटहरी, वैशाख ३१ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ ।
ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असुलीको रकम फिर्ता गराउन थालको हो । सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको शुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषी उपर कारबाहीको प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताउनुभयो। सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उहाँले बताउनुभयो ।
यसैबीच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ । दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको प्रशासनले जनाएको छ ।