Kath khabar
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

 

                उदयपुर, वैशाख ३१ । जिल्ला प्रहरी कार्यालयले विभिन्न ठाउँका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका ३ जना अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान  शुरु गरेको छ । उनीहरूले २ महिनाभित्र २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए । 

प्रहरीले कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न ठाउँका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज आइतवार सार्वजनिक गरेको हो  ।

चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले कर स्वरूप तोकिए बमोजिमको रकम बुझाउनुपर्ने भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटक पटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो  ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ३ का उज्वल थापा मगर, चितवनको रत्ननगर नगरपालिका २ का सुशील श्रेष्ठ र काठमाण्डौ महानगरपालिका १० बुद्धनगरमा लुकिछिपी बसेका कटारी ३ का विशाल थापा मगर रहेका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । उनीहरू विरुद्ध ठगी सम्बन्धित मुद्दा समेत दर्ता गरिएको छ ।        

ती अभियुक्तले खोटाङको खोटेहाङ गाउँपालिका २ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै ३० हजार रुपैयाँ ठगी गरेका थिए । 

यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटक पटक गरेर उनीहरूले २२ लाख २० हजार रुपैयाँ ठगी गरेका पाइएको प्रहरीले जनाएको छ ।

ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा नागरिकलाई ह्वाटस्एप मार्फत त्यो कम्पनीको छाप समेतको कागजात देखाएर सुरुमै २० हजार देखि १ लाख रुपैयाँसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो ।

पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छे मार्फत पैसा भएका सोझा साझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको किर्ते कागजात देखाउने गरेका थिए । 

एसपी फुयाँलले भन्नुभयो, ‘चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूह मध्येको पक्राउ गरिएका ३ जना त सामान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्,  वास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरूसम्म पुग्ने गरी अनुसन्धान शुरु गरेको छ र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउ पर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजी शुरु गरिएको  छ ।’

पक्राउ गरिएकाहरू विरुद्ध  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा  दर्ता गरी कारबाही अघि  बढाइएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update