काभ्रेपलाञ्चोक, जेठ १ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका २ जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको छ ।
पनौती नगरपालिका ७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएको वैशाख १७ गते सहकारीबाट पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, १ नाले भरुवा बन्दुक र रड समेत बरामद गरिएको कार्कीले बताउनुभयो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ ।