काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालत लगेको छ ।
रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको समय मागेको छ । हिजो पक्राउ परेका टोपबहादुर रायमाझीलाई आज सोमबार सरकारी वकिलको कार्यालयमा हाजिर गराइएको थियो ।
काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले रायमाझीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको हो । उनीमाथि लागेको अभियोगको अनुसन्धानका लागि समय आवश्यक भएपछि म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्न लागिएको हो ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनपछि आइतबार बूढानीलकण्ठस्थित एक कार्यकर्ताको निवासस्थानबाट पक्राउ परेका थिए ।
यस प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् । अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।