काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्वसभासद आङटावा शेर्पा घाइते भएका छन् ।
बाथरुममा चिप्लिएर लडेपछि राति नै उनलाई तुरुन्त वीर अस्पताल पुर्याइएको थियो । शेर्पाको टाउकोमा चोट लागेको छ। अहिले डिस्चार्ज भईसकेको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिए । आत्मसमर्पणपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुको हिरासतमा राखिएको थियो ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । भेटमा शेर्पाले बालकृष्ण खाणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिदै बयानमा खाणको नाम नलिन आग्रह गरेको प्रहरीले बताएको छ । रामेछापका आङटावा नेपाली कांग्रेसका पूर्व सभासद् हुन् ।