काठमाडौं, जेठ ३ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको संसद् सचिवालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ।
जबरा विरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णय विरुद्धको रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो। अब अर्को यही जेठ ३१ का लागि तोकिएको छ। तर, यसअघि निवेदक तथा प्रत्यर्थी दुवैलाई बहसनोट पेश गर्न इजलासले आदेश दिएको छ।
अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै गत २० मंसिरमा जबराले आफूविरुद्ध दायर भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको र यसको सूचना उपलब्ध गराउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए।
सो निवेदनको माग सम्बोधन गर्दै महासचिव डा. भरतराज गौतमले मंसिर २१ गते महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालत प्रशासनमा पठाएका थिए। तर, सोही दिन यस विरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले संयुक्त रूपमा पत्र असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए।