काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकुको शिविरमा भ्रष्टाचार छानबिन गरी दोषी देखिएमा आफू जेल जान तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा कपोकल्पित र पूर्वाग्रही भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका हुन्। ‘पूर्वमाओवादी लडाकुलाई राज्य कोषबाट प्रदान गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपको लागि आरोप मात्रै हो भन्ने कुरा जोड दिएर भन्न चाहन्छु,’ उनले भने ।
‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो । यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ। त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ।’ उनले भने ।
इतिहासको त्यो परिघटनाले देशलाई शान्तिको नयाँ युगमा ल्याउन मद्दत गरेको बताउँदै उनले क्यानटन्मेनमा हजारौं लडाकुहरु राखेर देशलाई, शान्तिलाई लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत समेत गरेको उनले बताए ।