काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताउनु भएको छ ।
प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गर्नुभयो ।
बैठकमा सांसद दीलेन्द्र प्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गर्नुभएको थियो । त्यस्तै सांसद रघुजी पन्तले नेपाल-भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षा लगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इन्च पनि जमिन छोड्दैनौँ, छिमेकीको पनि एक इन्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गर्छौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।’
आफ्नो भारत भ्रमणमा राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने प्रधानमन्त्रीको भनाइ छ ।